जनकपुरधाम, ९ बैशाख । जनकपुरधाम उपमहानगरपालिका–८ मा सञ्चालनमा रहेको लिटिल चेम्प स्कुललाई नगरपालिका निर्देशन उल्लंघन गरेको आरोपमा कारबाही गरिएको छ ।

निर्धारित समयअघि नै कक्षा सञ्चालन गरेको पाइएपछि उपमहानगरपालिकाले विद्यालयलाई पहिलो पटक २ हजार ५०० रुपैयाँ जरिवाना गरेको हो ।

नगर प्रहरीका अनुसार उपमहानगरपालिकाले यसअघि नै सूचना जारी गर्दै वैशाख १५ गतेदेखि मात्रै नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया तथा कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो । तर, सो निर्देशनको बेवास्ता गर्दै उक्त विद्यालयले समयभन्दा अगाडि नै कक्षा सञ्चालन गरेको पुष्टि भएपछि कारबाही गरिएको जनाइएको छ ।

उपमहानगरपालिकाका अधिकारीहरूले शैक्षिक संस्थाहरूलाई नियम, मापदण्ड तथा समयसीमा पालना गर्न पटक पटक आग्रह गरिँदै आएको बताएका छन् ।

यद्यपि, केही विद्यालयहरूले अझै पनि निर्देशिका उल्लंघन गर्ने प्रवृत्ति देखाइरहेको भन्दै यसप्रति प्रशासन गम्भीर बनेको छ ।

उपमहानगरपालिकाले शिक्षा क्षेत्रलाई व्यवस्थित, अनुशासित र विद्यार्थीमैत्री बनाउन एकरूप नीति लागू गर्न खोजिएको उल्लेख गर्दै नियम उल्लंघन गर्ने संस्थामाथि आगामी दिनमा थप कडाइ गरिने चेतावनी दिएको छ ।

‘सबै विद्यालयले समान मापदण्ड पालना गर्नु अनिवार्य छ, अन्यथा कारबाहीको दायरामा आउनेछन्,’ उपमहानगरपालिकाका एक अधिकारीले बताए ।