झापा, २ कार्तिक । झापामा भतिजलाई गोली हानेर काकाले आत्महत्या गरेका छन् ।

जिल्लाको गौरादह नगरपालिका–८ मा १५ वर्षीय भतिज हेमराजलाई गोली हानेर ३५ वर्षीय काका जीवन शाहले आत्महत्या गरेका हुन् ।

जीवनले आफैंलाई कन्चटमा गोली हानेको हुनसक्ने देखिएको झापा प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।

यसको केहीअघि शाहले उनका भतिज १५ वर्षीय हेमराजलाई गोली हानेका थिए । उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । मृतक शाह सशस्त्र प्रहरी बलबाट अवकाशप्राप्त कर्मचारी हुन् ।

उनले ‘ह्याण्ड मेड’ पेस्तोलबाट गोली हानेको देखिएको छ । भतिजलाई गोली हानिएभन्दा ५० मिटर उत्तरमा रहेको गेउरिया खोला किनारमा बाँसको झ्याङ्गमुनि शाह गम्भीर अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार उनको साथमा भेटिएको पेस्तोलबाट ३ राउण्ड गोली समेत बरामद भएको छ । ११ वटा गोली पनि भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुबीच पारिवारिक विवाद हुनसक्ने आशंका गरिएको छ । यसबारे इलाका प्रहरी कार्यालय दमकले विस्तृत अनुसन्धान थालेको छ ।