काठमाडौं, २ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरमा हुने निर्वाचन सामान्य भोट हाल्ने निर्वाचन मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको बताएका छन् ।

प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचनका क्रममा बुधबार बिहान उनले आगामी निर्वाचन आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवन–मरणको सवाल भएको बताए ।

‘४ मंसिरमा दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदैछ वास्तवमा । यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारा जे भने पनि दुइटा शक्ति आमनेसामने छन्’, अध्यक्ष प्रचण्डले भने ।

आगामी निर्वाचनलाई आफूलाई सामान्य निर्वाचनका रूपमा मात्र लिने छुट नभएको उनले स्पष्ट पारे । प्रचण्डले चुनाव जनक्रान्ति र जनयुद्धका उपलब्धि रक्षा गर्ने त्यो उल्ट्याउन खोज्नेबीचको लडाइँ जस्तो भएको उल्लेख गरे । माओवादीसँग हिजो जस्तो फौज नभएकाले शान्तिपूर्ण प्रतिस्पर्धा बाटै आफ्नो श्रेष्ठता साबित गर्नुपर्ने चुनौती रहेको उनको भनाइ थियो ।