ताप्लेजुङ, २ कार्तिक । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा जिल्लाको मैवाखोला गाउँपालिका–५ फाकुम्बा–कम्साङका ३१ वर्षीय पासाङ शेर्पा, २४ वर्षीय फुर्बा शेर्पा, मैवाखोला गाउँपालिका ४ साँघु–ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीय लाकी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार मैवाखोला गाउँपालिका–४ साँघुस्थित याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा राति करिव साढे १२ बजे ट्याक्टर दुर्घटना भएको हो ।

मैवाखोला गाउँपालिका–१ तेल्लाबुङबाट सोही पालिकाको वडा नम्बर–५ काम्साङतर्फ जाने क्रममा ट्याक्टर दुर्घटना भएको बताइएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरू दुई परिवारका दुई–दुई जना छन् ।