सत्ता गठबन्धनको पक्षमा मतदान गर्न साहको आग्रह

जनकपुरधाम, १ कार्तिक । सत्तारुढ गठबन्धनको तर्फबाट धनुषा ३(ख) को प्रदेश सभा सदस्य पदका उम्मेदवार परमेश्वर साहले लोकतान्त्रिक सरकार निर्माणका लागि कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ स्थित धर्मवान टोल र पुलचोकमा घरदैलोको क्रममा बोल्दै लोसपाका धनुषा जिल्ला अध्यक्षसमेत रहेका साहले देशकै ठूलो समस्याको रुपमा रहेको नागरिकता समस्या समाधानका लागि गठबन्धनले पहल गर्ने दावी गरेका हुन् ।
नागरिकता विधेयकको विरोधमा लागेको दललाई मतदाताले पक्कै पनि मत नदिने उनले विश्वास व्यक्त गरे । संविधान संशोधन, मधेशी जनताले पाउन नसकेका अधिकारको प्रत्याभूति गराउनका लागि लोकतान्त्रिक सरकार आवश्यक रहेको साहले बताए ।
उनले भने, ‘हामीले प्रदेशको नामाकरण गर्यौं, राजधानी बनायौँ तर संघियता अनुरुप काम अगाडी बढ्न सकेन । त्यसका लागि थुप्रै काम गर्नुपर्ने भएकाले गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्नुस् ।’
साहले जनकपुरधामलाई राजधानीको स्वरुपमा ल्याउन र संघियता अनुरुप काम अगाडी बढाउन बाँकी कामहरु आफूहरुले पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


