काठमाडौं, १ कार्तिक । नेकपा माओवादी केन्द्रले पार्टी र सत्ता गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय गर्न थप समय प्रदान गरेको छ ।

माओवादीले मंगलबार विज्ञप्तिमार्फत यसअघि असोज ३१ गतेसम्म दिइएको समयसीमा थप गरेर कार्तिक ४ गतेसम्मको समय दिइएको जानकारी दिएको हो ।

माओवादीले बागी उम्मेदवारी दिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई यसअघि नै निष्कासन गरिसकेको छ । माओवादीको निर्णयअनुसार अब बागीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेमा कारबाही फिर्ता हुने मौका प्रदान गरिएको छ ।

उक्त समयभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गराई गठबन्धनका आधिकारिक उम्मेदवारलाई सहयोग गर्न मुख्यसचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।