एमालेकी समानुपातिक उम्मेदवार महतो कांग्रेस प्रवेश

जनकपुरधाम, १ कार्तिक । नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा समानुपातिकतर्फकी एक उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
जनकपुरधामकी नेतृ फूल कुमारी महतो एमाले परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् ।
नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका धनुषा–४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादवले उनलाई पार्टीमा प्रवेश गराएका छन् ।
कांग्रेस प्रवेश गरेकी महतोले एमालेभित्र तानाशाही प्रवृत्ति रहेको र मधेशी जनता तथा कार्यकर्तालाई भ्रममा राखेर नेताहरुले राजनीतिक स्वार्थ पूरा गरिरहेकोले आफू असन्तुष्ट भएर पार्टी परित्याग गरेको बताइन् ।
देशमा सबैभन्दा बढी नागरिकताबिहीन मधेसमै रहेको र अहिले मधेसको मुख्य मुद्दा पनि नागरिकता नै रहेकाले त्यस विधेयकलाई अड्काएर एमालेले मधेस र मधेशी जनतालाई धोका दिएको उनको आरोप छ ।
उनले व्यक्तिगत रुपमा आफूलाई एमालेले समानुपातिक सूचीमा राखे पनि मधेस र मधेशी जनतालाई धोका दिइरहेकोले पार्टी छाडेको बताइन् ।
जनकपुरधाम उपमहानगरपालिका–२२ मा आयोजित कांग्रेसको घरदैलोको क्रममा महतोलाई सहमहामन्त्री यादवले पार्टीमा भित्र्याएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


