रौतहटमा माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु

रौतहट, १ कार्तिक । रौतहटमा माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर–२ जमुनिया गाउँमा माटोको ढिस्कोमा पुरिएर सासूको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छन् ।
दीपावली र छठ पर्वका लागि घर लिपपोत गर्न गाउँको उत्तरपट्टी माटो लिन गएकी स्थानीय धनराज चौधरीकी ६५ वर्षीया श्रीमती मोहनी देवीको ढिस्कोले पुरिएर मृत्यु भएको हो । माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सासूसँगै बुहारी सुनिता कुमारी चौधरी समेत ढिस्कोले पुरिएर घाइते भएकी थिइन् । बुहारी सुनिता स्थानीय अस्पतालमा उपचार पछि खतरामुक्त रहेकी छन् ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाइएको तथा घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


