जनकपुरधाम, ३१ असोज । नपाली कांग्रेसका पूर्वउसभापति विमलेन्द्र निधिले धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा पाँचदलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल कुमार झालाई जिताउन अनुरोध गरेका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा बोल्दै नेता निधिले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

उनले भने, ‘अनिल झाजीलाई जिताउनका लागि नै म यहाँ आएको हुँ, यसका लागि हामी जस्तोसुकै सहयोग गर्न तयार छौँ ।’

उनले अबदेखि आफु गृहनगरमै रहेर गठबन्धन दलका उम्मेदवारलाई जिताउन हरसम्भवरुपमा लागिपर्ने बताए । उनले यसका लागि अबदेखि आफू चुनावसम्म जनकपुरधाममै रहने बताए ।

पाँच दलीय गठबन्धनबाट धनुषा–३ मा उम्मेदवार रहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झालाई जिताउनका लागि पूर्वउपसभापति निधि जनकपुरधाम आईपुगेका हुन् ।

उनले पाँचदलीय गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि चुनावी प्रचारप्रसारमा समेत लाग्न कार्यकर्तालाई आग्रह गरे ।

उनलाई स्वागत गर्नका लागि पूर्वमन्त्रीसमेत रहेका धनुषा–३ का आकांक्षी उम्मेदवार अनिलकुमार झा, प्रदेश सभा सदस्य पदका उम्मेदवारद्वय रामसरोज यादव र परमेश्वर साहलगायत काँग्रेस, लोसपासहित पाँचदलीय गठबन्धनका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।