काठमाडौं, ३० असोज । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको जनाएको छ ।

छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ यसअघि नै सकिएको छ । हाल जिल्ला जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइरहेको छ ।

आजसम्म सिरहा, सप्तरी, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, सर्लाही, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, सिन्धुलीसहित २८ जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभातर्फ २ करोड १ लाख ८४ हजार तथा प्रतिनिधिसभातर्फ २ करोड ४ लाख मतपत्र छापिएको छ ।