सर्लाहीमा झडप हुँदा ६ जना प्रहरी घाइते, ३ राउण्ड अश्रुग्यास प्रहार

सर्लाही, ३० असोज । सर्लाहीमा युवायुवती फरार भएको घटनामा स्थानीयले युवकको काकालाई बन्धक बनाउँदा प्रहरीले उद्धार गर्न गएपछि झडप भएको छ ।
जिल्लाको चन्द्रनगर गाउँपालिका–२ बबरगञ्जमा स्थानीयसँग प्रहरीको झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् भने ३ राउण्ड अश्रुग्यास प्रहार गरिएको छ ।
स्थानीय धर्मेन्द्र साहको २० वर्षीया छोरी र भक्ती यादवका २२ वर्षीय छोरा असोज १३ गते फरार भएको विषयलाई लिएर केटी पक्षले केटाको काका ६२ वर्षीय गणेश रायलाई कुशवाहा धर्मशाला बबरगञ्जमा बन्धक बनाएर राखेका थिए ।
रायलाई बन्धक बनाइएको खबर पाएपछि प्रहरीले उद्धार गर्न जाँदा झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।
रायलाई प्रहरीको टोलीले उद्धार गर्न जाँदा करिब ३०० जना मानिसहरू जम्मा भई प्रहरीमाथि ढुंगामुढा प्रहार गरी नम्बर नखुलेको अपाचे मोटरसाइकलमा आगजनी गरेका थिए । सोही झडपलाई नियन्त्रणमा लिन खोज्दा ६ जना प्रहरी घाइते भएको प्रवक्ता यादवले बताए ।
प्रहरीले ढुंगामुढा गर्ने १५ जनालाई नियन्त्रणमा लिएपनि पछि ८ जनालाई छाडेको र ७ जनालाई नियन्त्रणमा राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


