जनकपुरधाम, २९ असोज । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीबाट धनुषा ३(क)मा प्रदेश सभा सदस्य पदका उम्मेदवार डा. प्रसन्न झाले चिकित्सक पेशाबाट नै आफूभित्र सेवाको भावना जागृत भएको बताएका छन् ।

शनिबार धनौजी गाउँपालिकाको वडा नम्बर–२ बाट घरदैलोको शुरुवात गर्दै झाले मधेस प्रदेशमा स्वास्थ्य सेवाको खस्कँदो अवस्थालाई देखेर आफू चिन्तित भएको र त्यसमा सुधार ल्याउन राजनीतिमा लाग्ने निर्णय गरेको स्पष्ट गरेका हुन् ।

उनले भने ‘चिकित्सकिय पेशमा आवद्ध रहिरहँदा बिरामीहरुलाई गरेको सेवाबाटै प्रेरित भएर राजनीतिमा लाग्न अभिप्रेरित भएँ ।’

उनले मधेस प्रदेशमा स्वास्थ्यको स्थिति जर्जर रहेको अवस्थामा प्रदेश सरकारले सञ्चालनमा ल्याएको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा प्रदान गर्नुभन्दा पनि राजनीतिको अखाडा बनेकोमा आक्रोश व्यक्त गरेका छन् । झाले आफू निर्वाचित भए स्वास्थ्य संस्थामा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

प्रदेश सभा सदस्य पदका उम्मेदवार झाले शनिबारदेखि घरदैलो कार्यक्रमको शुरुवात गरेका छन् । घरदैलो सुरु गर्नुुपूर्व उनले इठरवा मन्दिरमा पूजापाठ गरेका थिए ।

धनौजी वडा नम्बर–२ मा पार्टीको निर्वाचन प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनी मत माग्न जनतामाझ पुगेका थिए ।