पशुपतिनाथमा भक्तजनले चढाएका सामग्रीहरूको बिक्री सुरु

काठमाडौं, २९ असोज । पशुपतिनाथमा भक्तजनहरूले चढाएका सामग्रीहरूको बिक्री सुरु गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरूले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीहरूलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो ।
कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरु गर्न थालेको जनाएको छ । मन्दिरमा सङ्कलन भएका विभिन्न ३१ प्रकारका सामग्रीहरूलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति, संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए ।
भक्तजनले श्रद्धाले चढाएका सामग्रीहरूलाई सर्वप्रथम कोषको गणना कक्षमा ३२ प्रकारका सामग्रीहरूलाई आम्दानीको रुपमा दाखिला गरिने र सोही सामग्रीहरू बिक्री कक्षमार्फत बिक्री गरिने उनले जानकारी दिए ।
उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको १०० रुपैयाँ, शिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको पनि उल्लेख गरे । उनले पशुपति विकास कोषको आयलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सामग्रीहरूको बिक्री गरिएको स्पष्ट पारे ।
त्यसै गरी पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका शिव महापुराण लगायत अन्य विभिन्न पकाशनहरूलाई पनि बिक्री गरिएको उनले जानकारी दिए । पशुपतिनाथ मन्दिरका मुलभट्ट, भट्ट, भण्डारीहरू र कर्मचारीहरूलाई कोषमा जम्मा भएको रकमबाटै तलब तथा सेवा सुविधा दिइने गरिएको पनि उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


