जनकपुरधाम, २९ असोज । सत्तारुढ गठबन्धनले महोत्तरीमा संयुक्त रुपमा निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

गठबन्धनमा आवद्ध चार दलको जलेश्वरमा बसेको संयुक्त बैठकले जिल्लाका सबै निर्वाचन क्षेत्रमा संयुक्त रुपमा निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार यादव, लोसपाका नेता शरदसिंह भण्डारीसहितको सहभागिता थियो ।

सत्तारुढ गठबन्धनबाट महोत्तरी १ मा माओवादी केन्द्रका पोखरेल, २ नम्बर क्षेत्रमा लोसपाका भण्डारी, ३ मा लोसपा अध्यक्ष ठाकुर र ४ नम्बर क्षेत्रमा नेपाली कांग्रेसका यादव संघीय संसदका उम्मेदवार छन् । महोत्तरीमा प्रदेश सभाका आठवटै क्षेत्रमा पनि गठबन्धनले तालमेल गरेर उम्मेदवारी दिएका छन् ।

चारवटै दलका जिल्ला अध्यक्षहरुकोसमेत सहभागितामा भएको बैठकले गठबन्धनका सबै दलको सहभागितामा संघ र प्रदेशको चुनाव परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तुलसीप्रसाद ढुंगाना, लोसपाका जिल्ला अध्यक्ष रामबाबु साह र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कोसिलाल यादवले संयुक्त विज्ञप्ति जारी गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

संघ र प्रदेशका क्षेत्रदेखि वडा र बुथ तहसम्म गठन समिति गठन गरिने जनाएको छ ।