महोत्तरी, २८ असोज । आसन्न निर्वाचनका लागि महोत्तरीका १४३ मतदान स्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।भारतसँगको खुलासीमा नाकालाई दृष्टिगत गर्दै ११४ मतदान स्थललाई संवेदनशील घोषित गरिएको छ ।

४ प्रतिनिधिसभा र ८ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि २५८ मतदानस्थल र ४९९ मतदान केन्द्र निर्धारण गरिएका छन् ।जिल्लाका सबै मतदान स्थलको वस्तुस्थिति बुझी राख्न सुरक्षा निकायसहितको अनुगमन निरन्तर जारी राखिएको छ ।

निर्वाचनलाई मध्यनजर गर्दै यसको आवरण/निहुँमा हुनसक्ने सम्भावित अवाञ्छित घुसपैठ निस्तेज गर्न सुरक्षा प्रबन्ध सुदृढ गरिँदै लगिएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताए ।

जिल्लाको भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधिलगायतका आधारमा मतदानस्थल र मतदान केन्द्रलाई तीन तह (अतिसंवेदनशील, संवेदनशील र सामान्य) मा वर्गीकरण गरी सोहीअनुरूप सुरक्षा व्यवस्था प्रबन्ध गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।