काठमाडौं, २७ असोज । काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी गत असोज २५ गते काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जनालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोकनजिकै एक समूहले दुईजना पुरूषलाई धारिलो हतियार, इँटा, बियर बोतललगायतले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए । फरार भएका ८ जनालाई काठमाडौं प्रहरीको अनुसन्धानमा प्रक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले बताए ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर बस्ने जीवन तामाङ, दोर्जे शेर्पा, विनोद तामाङ, विकास श्रेष्ठ, राजेन्द्र खत्री, प्रदीप तामाङ र दीपेन लामा रहेको उनले बताए । मोटरसाइकल भाडामा दिने चाबहिल बस्ने २६ वर्षीय करण डंगोललाई पनि पक्राउ गरिएको उनले बताए ।

पक्राउ पर्नेहरुमा दोलखाको सैलुङ गाउँपालिका–२ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका जोरपाटी बस्ने वर्ष ३३ को जीवन तामाङ, सिन्धुपाल्चोक बाह्रबीसे–८ घर भई हाल गोकर्णेश्वर बस्ने वर्ष २७ का दोर्जे शेर्पा, बालक गाउँपालिका–२ का वर्ष २९ को विनोद तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का वर्ष २८ को विकास श्रेष्ठ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० का बेलबहादर खत्री रहेको उनले बताए ।

दोलखाको मेलुङ गाउँपालिका–३ का २९ वर्षीय प्रदीप तामाङ, काभ्रेपलान्चोक रोशी गाउँपालिका–४ का दीपेन लामा, मेलम्ची नगरपालिका–१० का २९ वर्षीय राजेन्द्र खत्री, कोशी गाउँपालिका–८ का ३२ वर्षीय दीपेन लामा र चाबहिलका २६ वर्षीय करण डंगोल पनि पक्राउ परेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक बोहराले अनुसन्धानका क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बताए । पक्राउ पर्नेहरुको साथबाट खुकुरी थान–३, प्र३००२–०१० प ३७६५ नं को एनएस मोटरसाइकल, प्र३०२–०११ प ४६४७ नं को २२० सिसीको पल्सर मोटरसाइकल, घटना स्थलमा फेला परेका इँट्टा र च्यातिएर रक्तामे भएका कपडालगायत सामग्री बरामद भएको उनले बताए ।

पक्राउ पर्नेहरूमाथि ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा अनुसन्धान गरिरहेको बताउँदै बोहराले काठमाडौं जिल्ला अदालतले उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न पनि अनुमति दिएको जानकारी दिए ।