रौतहट, २७ असोज । रौतहटबाट प्रहरीको गस्ती टोलीले ९ लाखभन्दा बढी अवैध रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्ला बैरगनिया–६ बस्ने ३६ वर्षीय राजकुमार भगत रहेका छन् ।

उनको साथबाट ९ लाख ६४ हजार नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए ।

प्रवक्ता मल्लका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले गौर–१ ट्रसमिटर चोकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गरिरहेको थियो । सोही क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्दा स्रोत नखुलेको उक्त रुपैयाँ फेला परेको बताए ।

बरामद रुपैयाँ र मोटरसाइकलसहित राजकुमार भगतलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।