सशस्त्र प्रहरीका असईको हत्या आरोपमा उनका सहकर्मी पक्राउ

सप्तरी, २७ असोज । सप्तरीमा सशस्त्र प्रहरीका असईको हत्या आरोपमा प्रहरीले उनका सहकर्मीलाई पक्राउ गरेको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका गोविन्दपुरस्थित सशस्त्र प्रहरी बलका असई सत्यनारायण यादवको हत्यामा सहकर्मीकै संलग्नताको आशंकामा एक प्रहरी जवानलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत असोज २० गते बिहान सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी सहायक निरिक्षक सत्यनारायण यादव सीमावर्ती बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा मृत फेला परेका थिए ।
घटनाको अनुसन्धानका लागि प्रदेशबाट पनि नेपाल प्रहरीको अनुसन्धान टोली सप्तरी गएको छ । प्रहरी स्रोतकाअनुसार उनको हत्यामा सशस्त्र प्रहरी जवान होमबहादुर खत्री प्रत्यक्ष रुपमा संलग्न रहेको प्रमाणहरु फेला परेका छन् । जवान खत्री अहिले प्रहरी नियन्त्रणमा छन् ।
यद्यपी प्रहरीले यस प्रकरणबारे आधिकारिक रुपमा केही जानकारी दिइएको छैन । आरोपी सशस्त्र प्रहरी जवान खत्रीको दरबन्दी अन्यत्रै रहेपनि माथिल्लो तहको अधिकारीको निर्देशनमा छिन्नमस्ता नाकामा कार्यरत थिए । सशस्त्र प्रहरी स्रोतकाअनुसार जवान खत्री सहायक हवल्दारबाट घटुवा भएर जवान भएका व्यक्ती हुन् ।
यस्तै, सशस्त्र प्रहरी बलले राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकालाई मुख्यालय तानेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


