काठमाडौं, २७ असोज । नेकपा एमालेका नेता भीम रावलले आफू एमालेमै रहिरहने र पार्टीका लागि काम गरिरहने बताएका छन् ।

बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उनले आफूले अझै पार्टी नछाडेको बताएका हुन् । प्रतिनिधि सभा निर्वाचनमा आफूलाई केपी शर्मा ओलीले टिकट नदिएको आरोप लगाउँदै उनले आफू पार्टीमै रहने र निरन्तर संघर्ष गर्ने बताए । उनले आफू स्वतन्त्र उम्मेदवार हुने सम्भावना रहेको भए पनि आफू त्यसमा नलागेको पनि बताएका छन् ।

रावलले नेकपा एमाले कसैको पनि नीजि संस्था नभएको बताए । उनले आफूले पार्टी नछोड्नुको कारण पनि त्यही भएको बताए । उनले भोलि पार्टीमा सुधार हुनसक्ने सम्भावना पनि रहेको बताएका छन् । पत्रकार सम्मेलनमा रावलले आफूलाई टिकट नदिनु ओलीको बदनियतपूर्ण कार्य भएको बताएका थिए ।

रावलले आफूले टिकट नपाए पनि पराजित महसुस नगरेको बताए । उनले आफूलाई अछामका जनताले सर्वसम्मत गर्दा पनि अध्यक्ष ओलीले अन्यायपूर्ण तरिकाले आफूलाई टिकट नदिएको बताएका छन् । तर, यसका कारण आफूले पराजित भएको महसुस नगरेको उनले बताए ।