काठमाडौं, २६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् ।

गैरआवासीय नेपाली संघ २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

गैरआवासीय नेपाली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको उनले बताए । प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्रविरोधी भएको भन्दै ओलीले लोकतन्त्र रक्षाका लागि भए पनि प्रधानमन्त्रीले गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताए ।

गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको आरोप लगाउँदै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गर्नु गम्भीर गल्ती भएको बताए । गृहमन्त्रीलाई नागरिकताको बारेमा धेरै राजनीति नगर्न सुझाब दिँदै ओलीले नागरिकतासम्बन्धी विषयमा डिबेट गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई चुनौती दिए ।

एनआरएनए जस्तो संस्थामा गएर राष्ट्रपतिमाथि प्रहार गर्नु असभ्यताको पराकाष्ठा भएको अध्यक्ष ओलीको जिकिर थियो । नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराइने प्रतिवद्धता जनाउँदै अध्यक्ष ओलीले भोट बढाउनका लागि देशलाई दूरगामी अहित हुने काम गर्न नमिल्ने दाबी गरे ।