काठमाडौं, २६ असोज । एक सातादेखि परेको वर्षाले जुम्लामा बाढी पहिरोबाट हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार मङ्गलबार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै जिल्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु जानकारी दिए । उनले भने, ‘गुठीचौर र हिमा गाउँपालिका एक÷एक जनाको मृत्यु भएको छ ।’

सदरमुकाम खलङ्गा एक सातादेखि विद्युत्, सञ्चार विहीन बनेको छ । जिल्लाभर ८५ भन्दा बढी घर पूर्णरूपमा क्षति भएको छ । दुई सयभन्दा बढी घर आंशिकरूपमा क्षति भएको छ । अहिले सुरक्षा निकाय परिचालन गरी क्षतिको यकिन तथ्याङ्क सङ्कलन गर्ने कामदेखि राहत र उद्धारमा सबै निकाय लागिपरेको प्रजिअ केसरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार अविरल वर्षाले कर्णाली राजमार्ग सञ्चालन भएको छैन । अझै दुई सातासम्म राजमार्ग सञ्चालन गर्न समय लाग्ने भएको छ ।