काठमाडौं, २५ असोज । निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ ।

देउवाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय भएको हो ।

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा फरक फरक जन्ममिति रहेको भन्दै परेको उजुरी छानबिन गर्दा सामान्य त्रुटि फेला परेको बताए । सो त्रुटि सामान्य रहेकोले उम्मेदवारी कायमै गर्ने निर्णय भएको जानकारी दिए ।

डडेल्धुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता परिचय पत्रमा जन्ममिति फरक रहेको भन्दै सोमबार उनका प्रतिस्पर्धी उम्मेदवार कर्ण मल्लले जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।सो उजुरीमाथि छानबिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेसम्म देउवाको जवाफ माग गरेको थियो ।

देउवाको तर्फबाट मानवीय त्रुटीका कारण नागरिकता अनुसार मतदाता परिचय पत्रमा फरक जन्ममिति हुन गएको र सो नागरिकता र मतदाता परिचयपत्र भएको शेरबहादुर देउवा एउटै भएको भन्ने बारेमा स्थानीय तहबाट सिफारिस पत्र बनाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरिएको थियो ।

देउवाको नागरिकतामा जन्ममिति २००३ साल रहेको र मतदाता नामावलीमा २००२ साल रहेको देखिए पनि जन्म महिना र गते एउटै देखिएकोले सामान्य त्रुटीका रूपमा मात्र लिइएको मुख्य निर्वाचन अधिकृत वाग्लेले बताए ।