२८ लाख ५६ हजार भारतीय रुपैयाँसहित पर्साबाट तीनजना महिला पक्राउ

पर्सा, २५ असोज । पर्सा प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँसहित वीरगञ्जबाट तीनजना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटका ४५ वर्षीया अनिता तामाङ, ४४ वर्षीया सरिता अग्रवाल र धादिङकी ३० वर्षीया मन्जु तामाङ रहेकी छन् ।
उनीहरुको साथबाट २८ लाख ५६ हजार भारतीय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए
रक्सौल–वीरगञ्ज नाका हुँदै आउँदै गरेका उनीहरुलाई शनिबार बिहान वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले पक्राउ गरेको थियो । वीरगञ्ज–१६ रजतजयन्ती चोकमा नियमित सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले बताए ।
उनीहरुले बोकेर ल्याएको झोला तथा शरीर खान तलासी गर्दा अनिताको साथबाट भारु २ हजार रुपैयाँ दरका नोट ५५ थान र ५ सय दरका ५ हजार ३ सय ८० वटा नोट गरी जम्मा २८ लाख बरामद भएको थियो । उनीसँगै आएकी मन्जुको साथबाट ५६ हजार रुपैयाँ बरामद भएको थियो । उनीहरुसँगै भारतबाट आएकी सरिताको पनि रकम ल्याउने कार्यमा संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपालमा प्रतिबन्धित दरका नोट ल्याएकाले पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए । बराममद गरिएको भारतीय रुपैयाँ सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


