चितवन, २४ असोज । चितवन मेडिकल कलेजको आइसियूभित्रै पसेर तोडफोड गरेको आरोपमा ११ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको छ ।

कलेजले सिसिटिभी फुटेज र भिडिओमा देखिएका तोडफोड गर्नेहरूविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज अधिकारीले ११ जनामध्ये ३ जनालाई पक्राउ गरिसकेको बताए । अन्यको खोजी भइरहेको उनले बताए ।

पाचन प्रणालीमा इन्फेक्सन भएर रगतमा फैलिएपछि धेरै अंगले काम गर्न छाडिसकेको अवस्थामा चितवन मेडिकल कलेज शिक्षण अस्पताल पु¥याइएका भरतपुर महानगरपालिका–१३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको गत सोमबार उपचारका क्रममा मृत्यु भएको थियो ।

दिउँसो सवा १२ बजे गम्भीर अवस्थामा अस्पताल पुर्याइएका कुँवरलाई तुरून्तै आइसियूमा राखेर उपचार सुरू गरिएको थियो । उपचारका क्रममा उनको साँझ सवा ५ बजेतिर मृत्यु भएको थियो ।

मंगलबार अस्पताल पुगेका मृतकका आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आइसियूभित्रै पसेर अन्धाधुन्ध तोडफोड गरेका थिए ।

कलेजले आइसियू कक्षमा पसेर तोडफोड गर्नेहरूलाई कारबाही गर्न माग गर्दै आएको थियो । एसपी अधिकारीले सिसिटिभी फुटेजको अध्ययन र अनुसन्धान गरेपछि जाहेरी दर्ता गरेर तोडफोडमा संलग्नको खोजी भइरहेको बताए ।