सिरहा, २४ असोज । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारणी सदस्य एवं पूर्वमन्त्री राजकिशोर यादवका भाइ काशिन्द्र यादवले सिरहा–४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

काशिन्द्र कविरका नामबाट समेत चिनिने यादवले यसअघि राजकिशोरले जितेको क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

जसपाले राजकिशोेर यादवलाई सिरहा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ । उनी यसअघि सिरहा–४ बाट उम्मेदवार बनेर जितेका थिए ।

तर जसपाले यसपटक सिरहा–४ बाट व्यवसायी वीरेन्द्र महतोलाई उम्मेदवार बनाएको छ । राजकिशोरलाई अर्कै क्षेत्रमा लगिएपछि उनकै भाइले सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा सिरहा–४ मा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ प्रसाद साह, प्रदेशसभातर्फ ४ (क) मा माओवादी केन्द्रका महेन्द्र पासवान, ४ (ख) मा कांग्रेसका कपिल साह र लोसपाका रामबाबु यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

जसपा–एमाले गठबन्धनबाट क्षेत्र नं. ४ का लागि डा.वीरेन्द्र महतो, प्रदेशसभातर्फ ४ (क) मा एमालेका प्रकाश महासेठ तथा ४ (ख) मा जसपाका सुरेशकुमार मण्डलको उम्मेदवारी परेको छ । ४ कै (ख) बाट एमालेका उदय नारायण यादवले बागी उम्मेदवारी दिएका छन् ।