बारा, २० असोज । बिहीबार बिहान बाराको अमलेखगञ्जमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव क्षेत्रीले दिएको जानकारी अनुसार चितवन पठाइएका एक घाइते र चुरेहिल अस्पतालमा उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएको हो ।

प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । सो बसमा करिब ५० जना सवार थिए ।

चुरेहिल अस्पतालमा भने ९ जनालाई लगिएको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै हेटौंडा अस्पतालमा लगिएका ३६ जनामध्ये १२ जनाको मृत्यु भएको छ भने हेटौंडा सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ ।

उपचारका लागि चितवन पठाइएका एक घाइतेको पनि मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन भने बाँकी छ । मृतकमध्ये १० पुरुष र ६ महिला रहेको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ ।

घाइते २० जनालाई थप उपचारका लागि भरतपुर, चितवन पठाइएको छ । हेटौंडाका विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।