महोत्तरी, १५ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा दौडाउने, यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारीसाधनलाई कारबाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रुहरूको सहायताको लागि आधा दर्जनभन्दा बढी सहायता कक्ष समेत स्थापना गरिएको छ ।

ट्राफिक नियमको उल्लङ्घन गर्ने जोकोही पनि सजग रहन प्रमुख सिजापतिले यातायात व्यवसायीहरुलाई आग्रह गरे । सहायता कक्ष जिल्लाका मुख्य राजमार्ग, हुलाकी सडक र भित्री सडकमा व्यवस्थापन गरिएको छ । जिल्लामा अहिले १० वटा ट्राफिक युनिट छन् ।

प्रमुख सिजापतिले जिल्लाका १० वटै युनिटलाई निक्कै सक्रिय बनाएका छन् । प्रत्येक युनिटले दैनिक दिनको ३ पटकभन्दा बढी छड्के चेक गरिरहेको सहायक कार्यालय प्रमुख होम भित्राकोटीले जानकारी दिए ।

प्रमुख सिजापतिले ट्राफिक प्रमुखको जिम्मेवारीमा आएदेखि ट्राफिक व्यवस्थापनमा निक्कै परिवर्तन ल्याएका छन् । ६ महिनाको अवधिमा नै उनले गौशाला नगरपालिका सँग समन्वय गरी ट्राफिक कार्यालयको आफ्नै भवन बनाएका छन् ।

जिल्ला ट्राफिक कार्यालय रहेको ठाउँ बर्दिबास नगरपालिकामा भने भाडामा बस्दै आएका छन् । ट्राफिक कार्यालयको आफ्नै भवनको लागि स्थानीय सरकार र सरोकारवाला निकायहरूलाई अनुरोध गरिरहेको प्रमुख सिजापतिको भनाइ छ ।