एमालेले उम्मेदवार घोषणा गर्न गठबन्धनको सिट बाँडफाँट कुर्ने

काठमाडौं, १५ असोज । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको घोषणा गर्न नेकपा एमालेले सत्तारुढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँटको अन्तिम सूची पर्खने भएको छ ।
नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले उम्मेदवारहरुको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
यसअघि शुक्रबार नै एमालेले आफ्ना उम्मेदवारहरुको सूची सार्वजनिक गर्न सक्ने अनुमान गरिएको थियो । तर, गठबन्धनले सिट बाँडफाँटको टुंगो नलगाएकाले एमालेले यो सूची सार्वजनिक गरेको छैन ।
पछिल्लो समय नेकपा एमालेमा यसअघि १० बुँदे सम्झौता गरेका नेताहरुलाई अध्यक्ष ओलीले टिकट दिन नचाहेको र टिकट चाहनेले आत्मालोचना गर्नु पर्ने चर्चा चलेको थियो । तर, यसलाई ओली स्वयंले निराधार चर्चा चलेको बताएका छन् ।
त्यसो त नेकपा एमालेका केही सचिवालय सदस्यले समेत यसपटकको निर्वाचनमा आफूहरु उम्मेदवार नहुने बताएका छन् । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका उपाध्यक्ष रामबहादुर थापा बादल, नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतका नेताहरुले यसपटक आफूहरु चुनावमा नउत्रिने बताएका छन् ।
अर्कोतिर एमालेले उम्मेदवारको सूची टुंग्याउनका लागि गठबन्धनको सिट बाँडफाँटको अन्तिम सूची पर्खिएको छ ।
नेकपा एमालेका ती स्थायी कमिटी सदस्यका अनुसार गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाएलगत्तै शीर्ष नेताहरुबीच छलफल गरेर प्रतिस्पर्धीभन्दा ‘बलिया’ उम्मेदवारलाई एमालेले टिकट दिने तयारी गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


