६ अक्टोबरमा नेपाल आएर प्रहरीमा उपस्थित हुनेछु : सन्दीप लामिछाने

काठमाडौं, १५ असोज । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू ६ अक्टोबरमा नेपाल आएर प्रहरीसमक्ष उपस्थित हुने बताएका छन् ।
उनले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफू ६ अक्टोबरमा नेपाल पुग्ने र आफूविरुद्धको अनर्गल आरोपविरुद्ध कानुनी लडाइँका लागि अधिकारीहरुसमक्ष उपस्थित हुने बताएका छन् ।
उनले आफूले निकै धेरै आशा लिएको र कानुनी लडाइँमा सत्यको जित हुनेमा विश्वस्त भएको पनि बताएका छन् ।
यसअघिको जस्तै आफू अहिले पनि निर्दोष भएको भन्दै उनले नेपालको न्यायमा आफूलाई पूर्ण विश्वास भएको पनि फेसबुक स्टाटसमा लेखेका छन् । उनले सम्मानित अदालतले आफूलाई छिट्टै न्याय दिनेमा आफू विश्वस्त भएको पनि बताएका छन् ।
सन्दीप लामिछानेविरुद्ध एक नाबालिग किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले उनको उजुरीमाथि अध्ययन गरेर सन्दीपविरुद्ध पक्राउ पुर्जी काठमाडौं जिल्ला अदालतबाट लिइसकेको छ ।
तर, उनी सिपिएल खेल्न वेस्ट इन्डिज पुगेकाले सन्दीप लामिछाने अहिलेसम्म पक्राउ पर्न सकेका थिएनन् । उनी कुन देशमा छन् भन्ने पनि खुलेको छैन । प्रहरीले उनी स्वयं नेपाल नआएको खण्डमा रेड कर्नर नोटिस जारी गरेर जुनसुकै देशमा भए पनि पक्राउ गरेर ल्याउने तयारी गरेको थियो ।
नेपाल प्रहरीले उनलाई पक्राउ गर्न परिपत्र जारी गरिसकेकाले उनी नेपाल आएकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पर्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


