प्राकृतिक सम्पदाहरूको दोहन हुँदासमेत राज्य संयन्त्र मौन छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं, १४ असोज । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले प्राकृतिक सम्पदाहरूको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुःखेसो गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यक भन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए ।
पूर्वराष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका कारण प्राकृतिक विपद्हरू दिनप्रतिदिन बढी रहेको बताए ।
नेपालमा मात्रै नभई विश्वमा नै क्लाइमेट इमर्जेन्सी, ग्लोबल वार्निङको समस्या रहेको बताउँदै उनले वैज्ञानिकहरूले प्राकृतिक श्रोत सम्पदाहरूको दोहन गर्दा आउन सक्ने परिणामको चेतावनी दिँदा समेत विश्वका नेतृत्वकर्ताहरुले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको बताए ।
उनले प्रकृति दोहन गर्दा हाल जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढी रहेको उल्लेख गर्दै यस्ता समस्याहरू समाधानका लागि विशेष योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे । उनले प्रकृतिको संरक्षण नगरे मानव सभ्यता नै धरापमा पर्ने अवस्था आइसकेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


