काठमाडौं, १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रको बाँडफाँट टुङ्ग्याएको बताएको छ ।

लामो समयदेखिको बैठक र गृहकार्यपछि निर्वाचन क्षेत्रको टुंगो लगाएको प्रचण्डको सचिवालयले जनाएको हो ।

केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दाबेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

‘लामो गृहकार्य र बैठकपछि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गठबन्धन दलहरूबीच निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लागेको छ,’ मल्लले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दाबेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइनेछ ।’

गठबन्धनमा कांग्रेसले ८६, माओवादीले ४६, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति जुटेको भनिएको छ । यद्यपि, १६५ मध्ये ९ निर्वाचन क्षेत्रमा दलहरूले दोहोरो दाबी गरेका बताइएको छ ।