लोसपा नेतृ चन्दा चौधरी कांग्रेसमा प्रवेश

काठमाडौं, १२ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का निवर्तमान सांसद चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई स्वागत गरेका हुन् ।
स्रोतका अनुसार काँग्रेसले नेतृ चौधरीलाई सर्लाही–४ मा टिकट दिने निश्चित भएको छ । सर्लाही–४ मा डा. अमरेशकुमार सिंहले टिकटको दावी गर्दै आएका थिए । चौधरी पार्टी प्रवेश गरेपछि नेता सिंहले टिकट नपाउने लगभग निश्चित भएको छ ।
लोसपाका कार्यकारिणी सदस्य समेत रहेकी नेतृ चौधरी अध्यक्ष महन्थ ठाकुर निकट हुन् । उनी लोसपाबाट समानुपातिक सांसद भएकी थिइन् ।
यसपटक समानुपातिकमा नपरेपछि उनी काँग्रेसमा प्रवेश गरेकी हुन् । चौधरीको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेतृ डा.आरजु देउवा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


