काठमाडौं, १२ असोज । विवेकशील साझा पार्टी छोडेका रवीन्द्र मिश्र राप्रपा प्रवेश गरेका छन् ।

बुधबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एकता घोषणा कार्यक्रममा मिश्र नेतृत्वको समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । राप्रपा अध्यक्ष लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।

राप्रपाका निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले अब पार्टी अध्यक्ष राजेन्द्र लिङ्देल र रवीन्द्र मिश्रले देशमा नयाँ सिराबाट राजनीति गर्ने विश्वास व्यक्त गरेका छन् ।

अबको निर्वाचन देशको भाग्य निर्धारण गर्ने मौका भएकाले सदुपयोग गर्न उनले सर्वसाधारणलाई आग्रह पनि गरे । उनले भने, ‘हामीहरु अरु पार्टी जस्तै बनेर जानु हुँदैन हामीले देशका लागि प्रस्ट भिजन दिन सक्नु पर्छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टी तथा रवीन्द्र मिश्र समूहबीच एकता घोषणा कार्यक्रममा उनले लिङ्देल र मिश्रसँगै ८१ वर्षीय आफू पनि लाग्ने बताए ।

पन्चेश्वर, पश्चिम सेती र अरुण जस्ता वृहत आयोजनालाई अब मुलुकले जोड दिनु पर्ने बताए । मुलुक विकासको छायामा होइन मूल ज्योति मै रहनु पर्ने बताए । अब पूर्वबाट मात्रै होइन पश्चिमबाट पनि सूर्य उदाउने अवस्थामा पु¥याउनु पर्ने उनले बताए ।