शेखर कोइराला पक्षद्वारा पार्टी कार्यालयमा धर्ना

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षीय समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ ।
पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै कोइराला पक्षधर नेता कार्यकर्ताहरूले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका हुन् ।
धर्नामा सहभागी नेताहरूले आसन्न प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि समानुपातिकको बन्द सूचीमा संस्थापन पक्षले एकलौटी गरेकाले धर्नामार्फत खबरदारी गर्नुपरेको बताएका छन् । नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसीले पार्टीभित्र सबैलाई न्याय र समान अवसर हुनुपर्ने आफूहरूको मनसाय रहेको बताए ।
उनले शेखर कोइराला पक्षका नेताहरूको नाम समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित नहुने गरी बन्द सूचीमा राखिएको बताए ।उनले समानुपातिक बन्द सूचीमा रहेका नामहरू सच्याउनुपर्ने र प्रत्यक्ष मा टिकट दिँदा पनि संस्थापन इतर समूहलाई समान अवसर दिनुपर्ने आफूहरूको माग रहेको उल्लेख गरे ।
नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूची हेर्दा संस्थापन इतर समूहलाई बाहिर राख्ने प्रयास गरेको देखिएको बताए । उनले बन्द सूचीको नाम नसच्याइएमा पार्टी सक्किने बाटोमा जाने बताए ।
कांग्रेस नेता भूपेन्द्रजंग शाहीले नेपाली काँग्रेस कसैको व्यक्तिगत पार्टी नभएको टिप्पणी गरे । उनले पार्टीको अधिवेशनमा अरूलाई भोट दिएको आधारमा नेताहरूको राजनीतिक हत्या गर्न खोजिएको भन्दै यस्तो कामले पार्टीलाई कमजोर बनाउने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


