काठमाडौं, १२ असोज । चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई काठमाडौंको कोटेश्वर र नयाँ बसपार्कबाट बुधबार बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गोंगबुमा राखिएको छ । बुधबार बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले कोटेश्वरबाट ८ जना र नयाँ बसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो ।

चाडपर्वको समयमा यात्रुहरूलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधि गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।

पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ का प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।