सांसदहरु नै गैरसंसदीय क्रियाकलापमा लाग्नु दुःखद् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं, ११ असोज । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सांसदहरु आफैँ गैरसंसदीय क्रियाकलापमा लाग्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाल कानुन समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘संघीय संसदको पाँच वर्षः एक सिंहावलोकन अनुगमन तथा परीवेक्षण प्रतिवेदन’माथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन् ।
सांसदहरु दलको कब्जामा रहँदा संघीय संसदले पाँच वर्षे कार्यकालमा जनताले अनुभूति गर्नेगरी कानुन निर्माणको काम गर्न नसकेको पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बताए । विकास, निर्माणको काममा बढी ध्यान दिनुपर्ने भएकाले पनि सांसदहरुले कानुन निर्माणको काममा ध्यान दिन नसकेको उनले बताए ।
सांसदहरुको मूल काम कानुन निर्माण गर्ने भएकाले त्यसैमा ध्यान दिन आवश्यक रहेको बताउँदै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘सांसदहरु जो दलको कब्जामा हुनुहुन्छ । उहाँहरुले आफ्नो भनाइ स्वतन्त्र ढंगले राख्न नपाउने जुन अवस्था छ । त्यो परिस्थितिले संसदीय भूमिकालाई कहीँ न कहीँ अवरोध गरिरहेकै छ ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संसदलाई गैरसंसदीय प्रक्रियामा लैजाने काम नगर्न पनि राजनीतिक दलहरुलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


