काठमाडौं, ११ असोज । नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसलाई जिताउने गरी खटिन निर्देशन दिइएको हो ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले पार्टीको सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनमा पार्टीलाई जिताउने गरी क्रियाशील हुन निर्देशन दिएको जानकारी दिए ।

‘आ–आफ्नो गृहजिल्ला पुगी बडादशैँ हर्षोल्लासपूर्वक मनाउन र आआफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ,’ उनले भने, ‘पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निणर्यअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रुपमा क्रियाशील हुनुहुन निर्देशन गरेको छ ।’