सर्लाही, ८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो मतदाताको मुड मापनका लागि सर्लाही पुगेका छन् ।

यसअघि धनुषा–३ बाट चुनाव जितेका उनलाई यसपटक सर्लाहीबाट चुनाव लड्न प्रस्ताव गरिएको बताइएको छ । सर्लाहीबाट उनको नाम केन्द्रमा सिफारिस पनि भइसकेको छ । जिल्लाको वास्तविक माहौल के हो भनेर बुझ्नका लागि उनी असोज ६ गतेदेखि सर्लाहीमा छन् ।

सर्लाही क्षेत्र नम्बर २, ३ र ४ बाट उनको नाम केन्द्रमा सिफारिस भएको छ । त्यसमा क्षेत्र नम्बर २ र ३ बाट उनको एकल नाम सिफारिस भएको छ । उता, धनुषा–३ बाट पनि उनको एकल नाम नै सिफारिस भएको छ । चुनावको मिति घोषणा हुनुभन्दा पहिलादेखि नै सर्लाहीका नेता तथा कार्यकर्ताहरू पटक पटक नेता महतो कहाँ डेलिगेसन लिएर गएका थिए । यसपटक सर्लाहीबाट चुनाव लड्न उनीहरुले आग्रह गरेका थिए ।

उम्मेदवार चयन गर्ने प्रक्रिया पार्टीमा सुरु भएसँगै सर्लाहीको क्षेत्र अनुगमन तथा त्यहाँका मतदाताको मुड मापनका लागि सर्लाही पुगेका हुन् । उनका प्रेस सहयोगी किशोर गुरुले भने, ‘महतोजीलाई पहिलादेखि नै यहाँ (सर्लाही) का नेता तथा कार्यकर्ताहरू सर्लाहीबाट चुनाव लड्न आग्रह गर्दै आइरहनुभएको थियो । त्यसै बारेमा उहाँले जनतासँग विचार विमर्श गर्न यहाँ आउनुभएको छ ।’

तर यसपटक पनि महतोले जनकपुरबाट नै चुनाव लड्ने तय भएको बताउँदै गुरुले त्यहाँ तयारी पनि भइरहेको जानकारी दिए । हरेक हिसाबले महतोका लागि धनुषा क्षेत्र सहज भएको उनको भनाई थियो । धनुषा–३ मा महतोलाई सबैभन्दा ठुलो डर काँग्रेसका नेता विमलेन्द्र निधिको थियो । निधि प्रत्यक्ष चुनाव नलड्ने भएपछि महतोलाई हाइसन्चो छ । यता एमालेसँग पनि चुनावी तालमेलका लागि वार्ता गर्न उनकै संयोजकत्वमा वार्ता समिति गठन भएको छ ।