काठमाडौं, ८ असोज । सरकारले निर्वाचन आयोगलाई १० अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनको लागि अर्थ मन्त्रालयले सो बराबरको बजेट सुनिश्चित गरेको हो ।

निर्वाचन सम्पन्न गर्नको लागि आयोगलाई आवश्यक पर्ने बजेटको लागि स्रोत सुनिश्चितता गरिएको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

अर्थ मन्त्रालयको जिम्मेवारी नै सरकारका प्रमुख कार्यहरू सम्पन्न गर्न बजेटको व्यवस्था गरिदिने र बजेट कार्यान्वयनमा सहजीकरण गर्ने भएकोले सोही अनुसारको कार्य गरिएको प्रवक्ता काफ्लेले बताए ।

यस्तै, मन्त्रालयले निर्वाचन प्रयोजनको लागि सवारी साधन खरिद गर्न गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालाई गरी १ अर्ब १२ करोड ५० लाख रुपैयाँ दिएको छ ।