भैरहवा, ८ असोज । गृहमन्त्री बालकुष्ण खाँणले निर्वाचनमा उम्मेदवार हुन चाहने नेताले त्याग गर्न पनि सक्नुपर्ने बताएका छन् ।

भैरहवास्थित शान्ति बुद्ध गुम्बा छात्रावास भवनको शनिबार उद्घाटन गर्दै उनले उम्मेदवार बन्न नेताहरुमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने भएकाले बुद्धले झैं त्याग गर्न आवश्यक रहेको बताएका हुन् ।

मन्त्री खाँणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने जिकिर गर्दै अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका ग्रामीण, सहरी विकास एवम् पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीयस्थलको प्रवर्द्धनमा सरकार लागेको बताए । यसका साथै प्रदेशमा रहेका विभिन्न धार्मिक स्थलको विकास र यसको प्रवर्द्धनमा प्रदेश सरकारले लगानी गरिरहेको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशका ग्रामीण, सहरी विकास एवम् पर्यटन मन्त्रालयको १५ लाख, सिद्धार्थनगर नगरपालिकाको पाँच लाख र अन्य दाताबाट गरी ३० लाखभन्दा बढीको लागतमा भैरहवामा रहेको शान्ति बुद्ध गुम्बामा छात्रावास निर्माण भएको हो ।