संरक्षकबाटै संविधान मिचिएको प्रचण्डको भनाइ

काठमाडौं, ७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संरक्षकबाट संविधान मिचिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताएका हुन् ।
उनले संरक्षकबाट नै जानिबुझी संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धिहरू खोस्ने षड्यन्त्रको रूपमा रहेको टिप्पणी गरे ।
अध्यक्ष प्रचण्डले देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि सुरु भएको उल्लेख गर्दै हालसम्म नरोकिएको बताए । उनले आफूहरूले सतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको बताए ।
अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे । विधेयक प्रमाणीकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उनको भनाइ छ । उनले प्रतिगमनको फणाहरू उठेको भन्दै परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको बताए ।
उनले एक थरी मानिसहरूले प्रचण्ड सिद्धियोस् भनेर रातदिन धूप हालेर बसेका बताए । प्रचण्ड अस्थिरताको कारण हो भन्ने प्रचार गरिएको भन्दै सो प्रचार पनि प्राप्त राजनीतिक उपलब्धिहरू उल्ट्याउने षड्यन्त्रको रूपमा उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


