नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धीको रिट हेर्न नभ्याइने सूचीमा

काठमाडौं, ७ असोज । शुक्रबारका लागि पेसी तोकिएको नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धीको रिट हेर्न नभ्याइने सूचीमा परेको छ । अब उक्त रिटको सुनुवाइ आइतबार हुने भएको छ ।
अधिवक्ताहरू सागर बराल, सुनिल रञ्जन सिंह, सुनिल कुमार यादवलगायतले छुट्टाछुट्टै रिट दर्ता गर्दै राष्ट्रपति कार्यालय विरुद्ध रिट दर्ता गराएका थिए । शुक्रबारको पेसीमा अन्तिममा परेका ती रिटहरू हेर्न नभ्याइने सूचीमा परेपछि अब आइतबार ती रिटमाथि सुनुवाइ हुने भएको हो ।
संसदको दुवै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले असोज ४ गतेभित्र प्रमाणीकरण गर्नु पर्नेमा गरेकी थिइनन् ।
राष्ट्रपति कार्यालयले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन, २०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध कानुन व्यवसायीहरूको पाँचवटा रिट परेको थियो ।
सो रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वरखिलाफ भएको उल्लेख गरिएको छ । साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।
अधिवक्ता सागर बराल तथा सौगातराज बराल, अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले राष्ट्रपति भण्डारीविरुद्ध बुधबार नै रिट दर्ता गराएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


