आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, मधेस प्रदेशमा को कहाँ? (सूचिसहित)

जनकपुरधाम, ६ असोज । निर्वाचन आयोगले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगले बिहीबार एक सूचना निकाल्दै मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त गरिएको जनाएको हो ।
जसअनुसार मधेस प्रदेशका आठवटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमा ८ जना जिल्ला न्यायाधिशहरुलाई मुख्य निर्वाचन अधिकृत र उपसचिव तथा उपरजिष्ट्रारहरुलाई निर्वाचन अधिकृत तोकिएको छ ।
सप्तरी जिल्लामा सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधिश हेमन्त रावललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनी क्षेत्र नम्बर–२ मा बस्नेछन् । त्यस्तै, निर्वाचन अधिकृतहरुमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का लागि प्रशासकीय अदालतका उपरजिष्ट्रार धनेन्द्र अधिकारी, क्षेत्र नम्बर–३ का लागि सर्वोच्च अदालतका इजलास अधिकृत मदनप्रसाद पराजुली र क्षेत्र नम्बर–४ का लागि राष्ट्रिय सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेललाई तोकिएको छ ।
सिरहामा सिरहा जिल्ला अदालतका जिल्ला न्यायाधिश काजीबहादुर राईलाई मुख्य निर्वाचन अधिकृत बनाइएको छ । उनी क्षेत्र नम्बर–३ मा रहनेछन् भने क्षेत्र नम्बर–१ का लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव लोकहरी बस्याल, क्षेत्र नम्बर–२ मा सर्वोच्च अदालतका उपरजिष्ट्रार कृष्णप्रसाद अधिकारी र क्षेत्र नम्बर–४ मा विशेष अदालतका उपसचिव दिपेन्द्रनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ ।
धनुषामा भने धनुषा जिल्ला अदालतका जिल्ला न्यायाधिश ब्रजेश प्याकुरेललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनी क्षेत्र नम्बर–३ को प्रतिनिधित्व गर्नेछन् । क्षेत्र नम्बर–१ मा कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयका उपसचिव उत्तमप्रसाद खरेल, क्षेत्र नम्बर–२ मा जिल्ला सरकारी वकील कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला र क्षेत्र नम्बर–४ मा मुख्य न्यायाधिवक्ता कार्यालयका उपसचिव सुदिप कुमार दंगाललाई निर्वाचन अधिकृत बनाइएको छ ।
त्यस्तै, महोत्तरीमा महोत्तरी जिल्ला अदालतका जिल्ला न्यायाधिश हेम बहादुर सेन मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । उनी क्षेत्र नम्बर–३ को प्रतिनिधित्व गर्नेछन् । क्षेत्र नम्बर–१ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव गुणराज श्रेष्ठ, क्षेत्र नम्बर–२ मा न्याय सेवा तालिम केन्द्रका उप तालिम प्रमुख अरुणकुमार झा र क्षेत्र नम्बर–४ मा विशेष सरकारी वकील कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता दशरथ गौतमलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।
सर्लाही जिल्लामा सर्लाही जिल्ला अदालतका जिल्ला न्यायाधिश कविप्रसाद न्यौपानेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । उनी क्षेत्र नम्बर–२ मा उपलब्ध हुनेछन् । क्षेत्र नम्बर–१ मा सर्वोच्च अदालतका इजलास अधिकृत प्रदीपकुमार उपाध्याय, क्षेत्र नम्बर–३ मा जिल्ला सरकारी वकील कार्यालय ताप्लेजुङका जिल्ला न्यायाधिवक्ता मोना सिंह र क्षेत्र नम्बर–४ मा सर्वोच्च अदालतका इजलास अधिकृत शम्भुप्रसाद बराललाई निर्वाचन अधिकृत तोकिएको छ ।
उता, रौतहटमा भने रौतहट जिल्ला अदालतका जिल्ला न्यायाधिश मातृका मरासिनीलाई मुख्य निर्वाचन अधिकृतको रुपमा खटाइएको छ । उनी क्षेत्र नम्बर–१ म उपलब्ध हुनेछन् । त्यस्तै, क्षेत्र नम्बर–२ मा नेपाल कानून आयोगका उपसचिव राजन नेपाल, क्षेत्र नम्बर–३ मा न्याय परिषद् सचिवालयका उपसचिव मेघनाथ चापागाई र क्षेत्र नम्बर–४ मा सर्वोच्च अदालतका इजलास अधिकृत गुणराज पराजुलीलाई निर्वाचन अधिकृतको जिम्मेवारीमा खटाइएको छ ।
बारा जिल्लामा भने जिल्ला अदालत बाराका जिल्ला न्यायाधिश पूर्णेश्वर प्रसाद उपाध्यायलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । उनी क्षेत्र नम्बर–३ को प्रतिनिधित्व गर्नेछन् । क्षेत्र नम्बर–१ का लागि जिल्ला सरकारी वकील कार्यालय बाराका जिल्ला न्यायाधिवक्ता कैलाश खत्री क्षत्री, क्षेत्र नम्बर–२ का लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशका उपसचिव सुदर्शन ढकाल र क्षेत्र नम्बर–४ का लागि सर्वोच्च अदालतका इजलास अधिकृत कर्णबहादुर राईलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।
मधेस प्रदेशको पर्सा जिल्लामा जिल्ला अदालत पर्साका जिल्ला न्यायाधिश विनोदकुमार पोखरेललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनी क्षेत्र नम्बर–१ मा उपलब्ध हुनेछन् । त्यस्तै, क्षेत्र नम्बर–२ मा जिल्ला सरकारी वकील कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता सुशिल देवकोटा, क्षेत्र नम्बर–३ मा जिल्ला सरकारी वकील कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता योगनाथ ढकाल र क्षेत्र नम्बर–४ मा उच्च अदालत जनकपुर वीरगञ्ज इजलासका उपरजिष्ट्रार रमेश श्रेष्ठलाई निर्वाचन अधिकृतको रुपमा खटाइएको हो ।
खटाइएका ठाउँ जानुअघि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आयोगले अभिमुखीकरण दिनेछ ।
आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदका लागि आगामी मंसिर ४ गते निर्वाचन हुँदैछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


