सामाजिक सेवाको माध्यमबाट ठूलो रूपान्तरण ल्याउन सकिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रूपान्तरण ल्याउन सकिने बताएका छन् ।
बिहीबार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औँ सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रूपान्तरण ल्याउन सकिने बताए । उनले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मूल प्रवाही करण गर्नुका साथै उनीहरूको सामाजिक, आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताए ।
प्रधानमन्त्री देउवाले यस्ता समाजसेवा मुखी कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकर्षित गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । उनले सबैले आफ्नो निजी स्वार्थ भन्दा माथि उठेर समाजको बृहत्तर हित, कल्याण एवं उत्थानका लागि निःस्वार्थ भावले समर्पित हुन आवश्यक रहेको बताए ।
उनले गैर सरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरू तर्जुमा गर्न आवश्यक रहेको बताए ।
उनले १५ औँ योजनामा उल्लेखित सामाजिक विकास सम्बन्धी उद्देश्य र दिगो विकास सम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि सरकार र गैर सरकारी क्षेत्रले एक आपसमा समन्वय सुरु गरी काम गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले गैर सरकारी संस्थाहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दीगोपना, मितव्ययिता, स्थानीय आधार मुखी श्रम सीप र प्रविधिको अत्यधिक उपयोगलाई प्रोत्साहन गर्न सके गैरसरकारी संस्थाको आवश्यकता र अपरिहार्यता बढ्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


