काठमाडौं, ६ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरेको हो ।

आयोगले यही असोज ११ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ ।

‘संवत् २०७९ मंसिर ०४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम देहायका माननीय जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मिति २०७९/०६/११ गतेदेखि लागू हुनेगरी देहाय बमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको छ’, सूचनामा उल्लेख गरिएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकिएको छ ।