धनुषा–२ बाट स्वतन्त्र उम्मेदवारी दिने कारी यादव (मास्टर साहेब)को घोषणा

जनकपुरधाम, ४ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरुले आ–आफ्नो घोषणा सुरु गरिसकेका छन् ।
यहीबीच प्रतिनिधि सभा निर्वाचनमा कारी यादव (मास्टर साहेब) ले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफू धनुषाको निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार भएर चुनावमा जाने मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उनले जानकारी दिएका छन् ।
धनुषाको औरही गाउँपालिका वडा नम्बर–२ पौरेश्वर बस्ने कारी यादव (मास्टर साहेब) २०२५ सालदेखि मावि स्तरमा प्रथम श्रेणीको शिक्षक भई प्रधानाध्यापकको पदबाट २०७० सालमा अवकाश प्राप्त गरी हालसम्म विभिन्न संघ संस्थामा आवद्ध भई समाजसेवा गर्दै आएका छन् ।
उनले भने, ‘म आफ्नो जीवनको सुरुदेखि कमिशनखोर, भ्रष्टाचार तथा कुशासनको विरोधमा रहेको छु । जुन समाजमा चरितार्थ नै छ । पञ्चायत कालदेखि अहिलेसम्म देशको राजनैतिक परिवर्तन आन्दोलनको हर मोडमा छु । परिवर्तनको आन्दोलनमा धेरै शहिद भए र लाखौं युवा सुन्दर भविष्यको सपनामा आफ्नो जवानी गुमाए । तर उपलब्धी राम्रो भएनन् ।’
‘देशमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, धार्मिक एवं सामाजिक अवस्था चिन्ताजनक भएको छ । कल कारखाना बन्द भएको छ, ’उनले भने, ‘शिक्षा स्वास्थ्यमा व्यापारिकरण भएको छ । बेरोजगारीले गर्दा लाखौं युवा पलायन हुदैछन् । हर निकायमा कमिशनखोर र भ्रष्टाचारीको विगविंगी छ । डरभर नामको चिज छैन । देश सञ्चालनको निकायहरु पंगु भएका छन् । देश ऋणमा डुब्दै छ । ईमान्दार र बुद्धिजिवीको केही खोज छैन । सांसद नाट्यशालामा परिवर्तन भएको छ । पार्टी, नेताहरुको धन कमाउने अखाडा भएको छ । देशको आम नागरिकको अवस्था नाजुक भएको छ, विदेशीहरुको प्रभावमा जन इच्छा विरुद्ध धर्म निरपेक्ष गरी हिन्दु राष्ट्र नेपालको नाम परिवर्तन गरेको छ ।’

उनले आफू निर्वाचित भए कमिशनखोर, भ्रष्टाचार र कुशासन तथा धर्म निरपेक्ष विरुद्ध गाउँदेखि सदनसम्म जोरदार आवाज उठाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
देशमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, बेरोजगारीको साथै सर्वाङ्गिण विकासका लागि आवश्यक पहल गर्ने, धर्म संस्कृतीको रक्षा गर्दै नेपाललाई हिन्दु राष्ट्रमा पुर्नस्थापना गराउन आवश्यक कदम चाल्ने र धर्म निरपेक्षलाई धर्म सापेक्ष बनाउनुका साथै आफ्नो मुल मुद्दा हिन्दु राष्ट्र नेपाल, भ्रष्टाचार निर्मूल र देश विकाश हुने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


