सुनसरी, ३ असोज । प्रहरीले सुनको गहना चोरी गरेको आरोपमा सुनसरीको इटहरीबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक घर भएका अरुण राना मगर, बृखमान राई र भुपेन्द्र बिक छन् ।

उनीहरुमाथि इटहरी उपमहानगरपालिका–८ स्थित प्रविशा कार्कीको घरबाट सुनको गहना चोरी गरेको आरोप छ ।

अरुण रानामगरले गहना चोरेर वृखमान राईलाई बिक्री गरेको अनुसन्धानबाट थाहा भएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर भीमबहादुर खड्काले बताए ।

इन्स्पेक्टर खड्काका अनुसार बृखमानले सो गहना भुपेन्द्र विकलाई बेचेको स्वीकार गरेका छन् । आरोपीहरुमाथि चोरी मुद्दामा म्याद लिएर इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको छ ।