काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । २१ जनाले सजाय माफी पाएका छन् ।

सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१ कैदी–बन्दीको कैद कट्टा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ गरी कुल जम्मा ६८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय मन्त्रिपरिषद्को मिति २०७९/५/३१ को बैठकको सिफारिसमा मिति २०७९–६–३ गते देखि लागू हुने गरी संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा माफी मिनाहा भएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।