काठमाडौं, २ असोज । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि समानुपातिकको बन्दसूची तयार पार्न नेकपा माओवादी केन्द्रले कार्यदल बनाएको छ ।

आइतबार बसेको माओवादी पदाधिकारी बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल बनाएको हो ।

सचिव गणेश साहका अनुसार कार्यदललाई सूची बढाउने/घटाउने, मापदण्ड पूरा भए/नभएको जाँच गर्ने र क्लस्टर मिलाउने जिम्मेवारी दिइएको छ ।

प्रदेशबाट लामो सूची आएकाले बैठक निष्कर्षमा पुग्न नसकेको साहले जानकारी दिए । उनका अनुसार कार्यदलले काम गरेर बन्द सूचीलाई मिलाएपछि सोमबार बिहान बस्ने पदाधिकारी बैठकले अन्तिम टुंगो लगाउनेछ ।

निर्वाचन आयोगले समानुपातिकको बन्द सूची बुझाउन ३ असोजसम्मको समय तोकेको छ ।