राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैन : अध्यक्ष यादव

काठमाडौं, १ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन् ।
उनले संघीय संसद्को दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयकले स्वतः ऐनको रूप लिने दाबी गर्दै सो विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नमिल्ने तर्क समेत गरेका हुन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने चेतावनी समेत दिए ।
‘कुनै पनि पार्लियामेन्टले दोर्होयाएर पारित गरेपछि त्यो स्वतः ऐनको रूपमा लिन्छ । यसले संसदीय मर्यादाकै खिल्ली उडेको छ । संसद्ले पारित गरिसकेपछि तिनलाई प्रमाणीकरणबाट रोक्न मिल्दैन । यदि त्यसो गर्ने हो भने संसद्ले पारित गर्दै जाने तर त्यो प्रमाणीकरण नहुने हो भने के हाल हुन्छ, लोकतन्त्रको, संघीय व्यवस्थाको ? त्यसकारणले म भन्छु–संघीय व्यवस्था, संसदीय लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्न गएको छ । धरापमा पर्न जाँदैछ । यसका संकेतहरु देखिएका छन् । यसप्रति सचेत रहन जरुरी छ’, अध्यक्ष यादवले भने ।
प्रतिनिधिसभाले मधेशी, आदिवासी, जनजातिलगायतका सबै समुदायको स्वामित्व हुने गरी संविधान संशोधन गर्ने काम गर्न नसकेको उनको गुनासो थियो ।
यादवले प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी समेत गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


